
पछिल्लो समय विश्व नै वैकल्पिक ऊर्जाको विकास गरी कार्बन उत्सर्जन कम गर्ने र हरित वातावरण निर्माण गर्ने अभियानमा जुटिरहेको छ । यस सन्दर्भमा जलविद्युत् मात्र नभई ऊर्जाको स्रोतका रूपमा सौर्य ऊर्जासहित अन्य स्रोतको विकास भइरहेको छ ।
विश्वका धेरै देशहरूले पछिल्लो समयमा सौर्य ऊर्जाको विकास व्यापक रूपमा गरिरहँदा नेपालमा पनि सौर्य ऊर्जाको विकास हुँदै गएको छ । सौर्य ऊर्जा उत्पादनका हिसाबले नेपालको भूगोल र भौगोलिक बनावट उपयुक्त छ । सौर्य ऊर्जा नेपालका लागि वरदान नै हो । नेपालको उच्च भेगमा बाँझो जमिन धेरै छ । जति उचाइमा गयो, सोलारबाट त्यति धेरै ऊर्जा उत्पादन हुन्छ । यसर्थ सोलारबाटै नेपाललाई ऊर्जामा आत्मनिर्भर बनाउन सकिन्छ । वैकल्पिक ऊर्जाको विकास गरी मुलुकले आर्थिक रूपमा समेत ठूलो लाभ लिन सक्ने अवस्था रहेको विभिन्न अध्ययनले देखाएका छन् ।
नेपालले सौर्य ऊर्जाबाट विद्युत् उत्पादनको क्षमता वृद्धि गरेर अगाडि बढ्दा व्यापार असन्तुलनलाई घटाउन समेत सकिन्छ । प्रविधिको विकाससँगै सौर्य ऊर्जा अब लागतका हिसाबले पनि सहज बन्दै गइरहेको छ । नेपालमा पर्याप्त घाम लाग्ने बाँझो जमिन छ । यी खाली जमिनमा सौर्य ऊर्जा उत्पादनका लागि सहजै र छोटो समयमै तथा कम लागतमा काम गर्न सक्ने अवसर छ । विशेषगरी पहाडी क्षेत्र सौर्य ऊर्जा उत्पादनका लागि अनुकूल मानिन्छ ।
गोल्यान ग्रुपमार्फत हामीले सन् २०१८ मा पहिलोपटक सौर्य ऊर्जामा व्यावसायिक अवसरको अध्ययन गरेका थियौं । २०१८ मा नै ६० मेगावाट सौर्य ऊर्जाको लागि सर्वेक्षण इजाजतपत्र प्राप्त गरेका थियौं । विभिन्न नीतिगत मुद्दा र सरकार परिवर्तनका कारण हामीले प्रारम्भिक ६० मेगावाटमध्ये केवल २० मेगावाट मात्र विकास गर्न सक्षम भयौं । सन् २०२३ बाट हामीले ‘क्लिन इनर्जी’ परियोजना अन्तर्गत नेपालगञ्जमा २० मेगावाटको प्लान्टको स्वामित्व लिएर सञ्चालन गरिरहेका छौं ।
नेपालमा दैनिक औसत ४.७ किलोवाट युनिट प्रतिवर्गमिटर सौर्य ऊर्जा उत्पादन क्षमता छ । यहाँ करीब १० लाख ३० हजार हेक्टर बाँझो जमिन छ । यसको १–२ प्रतिशत जग्गामात्रै उपयोग गर्न सकेको खण्डमा सयौं मेगावाट सौर्य ऊर्जा उत्पादन गर्न सकिन्छ । राम्रो घाम लाग्ने १० स्क्वायर मिटर क्षेत्रबाट सोलार प्यानलहरू जडान गरी प्रतिदिन ४ देखि ५ युनिट सौर्य विद्युत् ऊर्जा उत्पादन गर्न सकिन्छ । यसले नेपालमा सौर्य ऊर्जाको सम्भावना र उज्ज्वल भविष्य देखाउँछ । आज देशमा कुल ऊर्जामा सौर्य ऊर्जाको हिस्सा ५ प्रतिशतभन्दा कम छ । यद्यपि, अगाडि बढ्दै सरकारले कुल ऊर्जा मिश्रणमा वैकल्पिक ऊर्जा, मुख्यतया सौर्य ऊर्जाको कम्तीमा १० प्रतिशत कायम राख्ने लक्ष्य राखेको छ । यो लक्ष्य पूरा गर्नका लागि सौर्य ऊर्जाको विकास र विस्तार तथा लगानी प्रवर्धनमा लाग्नु आवश्यक छ ।
नेपालको विविधतायुक्त भूगोलमा जाडो याममा पनि पारिलो घाम लाग्ने भएकाले यहाँ सौर्य ऊर्जा प्रभावकारी छ । पश्चिम नेपालमा हिउँदमा हुस्सु त्यति लाग्दैन, घाम नै लागेको हुन्छ । त्यहाँ सौर्य ऊर्जाको उस्तै सम्भावना छ । पश्चिम नेपालमा ३६५ दिनमध्ये ३०० दिन मौसम सफा रहन्छ । सुख्खा तथा हिउँदको समयमा सौर्य प्रणालीबाट ऊर्जा उत्पादन हुँदा माग व्यवस्थापनमा पनि सहजता हुन्छ । यसले गर्दा ऊर्जाको माग र आपूर्तिबीचको खाडल कम गरी ऊर्जामा आत्मनिर्भर बन्न सकिन्छ ।
कुनै पनि एक प्रकारको ऊर्जामा मात्र निर्भरता कम गर्न ऊर्जा मिश्रण जरूरी हुन्छ र त्यसमा सौर्य ऊर्जा महत्वपूर्ण छ । दैनिक जीवनको लागि ऊर्जा आधारभूत आवश्यकता भएकाले हाम्रो ऊर्जा उत्पादन सुरक्षित गर्नु र कुनै एक स्रोतमा जोखिम निर्भरता कम गर्नु महत्त्वपूर्ण छ । जलविद्युत् नदीको अवस्था र पानीको स्तरमा धेरै निर्भर छ, जुन बाढी, खडेरी आदिबाट अत्यधिक प्रभावित हुन्छ । सौर्य ऊर्जा केवल सूर्यमा निर्भर रहन्छ, जसले गर्दा यसलाई वार्षिक मौसम परिवर्तनमा कम अस्थिर बनाउँछ ।
इनर्जी मिक्सिङका लागि सरकारको सक्रियता निकै राम्रो छ । विश्वमा १० प्रतिशत मात्रै जलविद्युत्बाहेक अन्य ऊर्जाका स्रोतबाट ऊर्जा उत्पादन भइरहेको अवस्था छ । नेपालको सन्दर्भमा ३५ सय मेगावाटसम्म विद्युत् उत्पादन भइरहेकोमा सोलारबाट मात्रै १२७ मेगावाट उत्पादन भइरहेको छ । साथै, ९६० मेगावाटको सौर्य ऊर्जा उत्पादन हुने तयारीमा छ । इन्टरनेशनल इनर्जी एजेन्सीको तथ्यांकअनुसार, विश्वभरि सौर्य ऊर्जाले कुल विद्युतीय ऊर्जाको ५.४ प्रतिशत भाग ओगटेको छ । नेपालमा सौर्य ऊर्जा उत्पादनको तयारी सफल भएमा १० प्रतिशतभन्दा बढी हिस्सा त्यसकै हुनेछ ।
नेपाल जलविद्युत्मा अत्यधिक निर्भर रहेको अवस्थामा प्राकृतिक विपत्तिका समयमा सौर्य ऊर्जा उपयोगी हुन्छ । प्राकृतिक प्रकोपहरू जस्तै बाढी, पहिरो, भूकम्पले पनि सौर्य ऊर्जामा फरक नपर्ने भएकाले प्रकोपका बेलमा यसले ऊर्जाको न्युनतम आवश्यकता पूरा गर्नेछ ।
छोटो समयमै उत्पादन शुरू गर्ने क्षमता, नवीकरणीय ऊर्जामा विश्वव्यापी माग र जलविद्युत्को पूरक स्रोतका रूपमा सौर्य ऊर्जाले नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान दिन सक्छ । सौर्य ऊर्जामा जोखिम एकदमै कम हुन्छ । सौर्य ऊर्जा उत्पादन गरी ऊर्जाको अधिकतम उपयोग गर्दा औद्योगिक एवं आर्थिक गतिविधि बढाउन सकिन्छ ।
वर्तमान समयमा नेपालमा सोलार ऊर्जातर्फ लगानी बढ्ने सम्भावना छ । बैंक तथा वित्तीय संस्था र अन्तर्राष्ट्रिय संस्था सौर्य परियोजनामा लगानी गर्न इच्छुक छन् । अहिले त बैंकको आधार दर (बेसरेट) पनि कम छ ।
सौर्य र जलविद्युत् आयोजनामा लगानीले लामो समयसम्म स्थिर प्रतिफल प्रदान गर्छ । सौर्य ऊर्जा आयोजनाको सञ्चालन र मर्मत खर्च कम हुन्छ, जसले गर्दा लगानीकर्ताले छिट्टै आफ्नो लगानीको प्रतिफल प्राप्त गर्न सक्छन् । उच्च उत्पादन क्षमता र लामो आयुका कारण लगानीमा राम्रो प्रतिफल दिन्छन् । सौर्य ऊर्जाको लागत समयसँगै घट्दै गएको छ । साथै, सौर्य प्यानलको एफिसियन्सी पनि बढ्दैछ । यस्तो अवस्थामा सरकारले सोलार प्रवर्धन गर्न लगानीको विशेष योजना ल्याउनुपर्छ ।
नेपालमा नवीकरणीय ऊर्जाको विकासलाई गति दिन प्रक्रियागत काम र अनुमति प्रक्रियालाई छिटो र सरल बनाउनु अत्यावश्यक छ । विकासकर्ताले सामना गर्ने प्रमुख चुनौतीमध्ये एक मुद्रा अस्थिरता र मुद्रास्फीतिको जोखिम हो । यी चुनौतीले आयोजनाको लागत र प्रतिफलमा अनिश्चितताको अवस्था सिर्जना गर्छ । अनुमति प्रक्रियालाई स्वचालित र पारदर्शी बनाएर समय र स्रोतको बचत गर्नेतर्फ ध्यान दिन सकिएमा यी चुनौतीलाई सहजै कम गर्न सकिन्छ । साथै यस्ता सहजीकरणले सौर्य ऊर्जा तथा जलविद्युत्का आयोजनामा स्वदेशी तथा विदेशी लगानी भित्र्याउन सहज बनाउँछ ।
नेपाल राष्ट्र बैंकले नवीकरणीय ऊर्जा क्षेत्रलाई प्रोत्साहन गर्न ब्याज अनुदान र अन्य आर्थिक प्रोत्साहन प्रदान गर्नेतर्फ अगाडि बढ्नु आवश्यक छ । यस्ता प्रोत्साहनले विकासकर्तालाई लागत कम गर्न सहयोग गर्छ । सौर्य ऊर्जा उत्पादनतर्फ लाग्दै गर्दा नेपालमा धेरै सम्भावना छ । अन्य मुलुकमा भन्दा पनि नेपालमा सौर्य ऊर्जा उत्पादनका लागि अनुकूल वातावरण रहेको अध्ययनले देखाएका छन् । अहिले यसका लागि राज्यले उपयुक्त नीति लिनु आवश्यक छ ।
पछिल्लो समय विश्वव्यापी रूपमै वैकल्पिक ऊर्जाका स्रोतमा लगानी बढ्दो छ । त्यसमध्ये पनि सोलारतर्फ धेरै आकर्षण छ । ओमानले ३० हजार मेगावाटको सोलार प्यानल बिच्छ्याउँदै छ । ओमानले सन् २०३० सम्ममा आफ्नो ऊर्जा उत्पादनको ३० प्रतिशत नवीकरणीय स्रोतबाट पु¥याउने लक्ष्य राखेको छ । त्यसमा ठूला सोलारका परियोजना छन् ।
दुबईमा सन् २०३० सम्म ५ हजार र दीर्घकालसम्म २५ हजार मेगावाटभन्दा बढी सौर्य ऊर्जा उत्पादन गर्ने लक्ष्यसहित मोहम्मद बिन राशिद अल मख्तुम सोलार पार्क परियोजना अगाडि बढाइएको छ । साउदी अरबले सन् २०३० सम्ममा ४० हजार मेगावाट सोलार ऊर्जा उत्पादन गर्ने लक्ष्य राखेर काम गरिरहेको छ । त्यसका लागि नेजम डेजर्ट सोलार प्रोजेक्टजस्ता ठूला परियोजनालाई अगाडि बढाइएको छ । यसरी विश्व नै सौर्य ऊर्जाको विकासमा लागिरहेको समयमा नेपालमा पनि यसतर्फ लगानी बढाउनु महत्त्वपूर्ण हुन्छ ।
नेपालमा पनि ऊर्जा क्षेत्रलाई अगाडि बढाउनका लागि विभिन्न पहल हुँदै अएका छन् । अझै ऊर्जा सुरक्षालाई सुदृढ गर्दै यसमार्फत आर्थिक र सामाजिक विकासमा योगदान पु¥याउ आवश्यक छ ।
नवीकरणीय ऊर्जाको तीव्र विकासले आयातित इन्धनमा निर्भरता घटाउँछ र वातावरणीय दिगोपनलाई प्रवद्र्धन गर्दछ । साथै, यस्ता आयोजनाले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्छ र ग्रामीण समुदायको जीवनस्तर सुधार्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । विश्वमै हरित ऊर्जाको रूपमा सौर्य ऊर्जालाई लिइने गरेको छ । नवीकरणीय ऊर्जामा विश्वव्यापी मागलाई परिपूर्ति गर्ने गरी नेपालमा पनि सौर्य ऊर्जाको विकास गर्न आवश्यक छ ।
प्रतिक्रिया