सेवाग्राहीको विगतको कारोबार तथा भुक्तानी आचरणको विश्लेषण गरेर कर्जा मूल्यांकन गर्न र कर्जा स्वीकृतिलाई जोखिमरहित बनाउन पनि बैंकलाई एआर्ई प्रणालीले सहयोग पुर्याइरहेको छ। यसले खराब कर्जाको मात्रा घटाउन मद्दत पुग्ने देखिन्छ।

विश्वास रेग्मी
परीक्षण, पुनः परीक्षण र निरन्तर सुधारमार्फत विश्वलाई चकित बनाइरहेका आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को विश्वव्यापी प्रयोग आफैँमा भने प्रारम्भिक अवस्थामै छ । प्रविधिको दुनियाँमा अहिले सबैभन्दा धेरै चर्चा बटुलेको एआईको भविष्यबारे अनुमान लगाउनु अस्वाभाविक हुन सक्छ तर समग्र प्रविधिको भविष्य भने अब एआईबाटै निर्देशित हुने पक्का छ । जसरी इन्टरनेटको आविष्कार प्रविधिको अहिलेसम्मकै उच्चतम सफलता मानिन्छ, एआईको उदय पनि प्रविधिका लागि त्यस्तै कोसेढुङ्गा बनेको छ । मानव जीवन र इतिहासमै पनि एआईको उपस्थिति यसअघिका आविष्कार र सिर्जनाका तुलनामा पृथक् छ ।
कृत्रिम बुद्धिमत्ता, यान्त्रिक बौद्धिकताजस्ता शब्दबाट नेपालीमा उल्था गरिने एआई वास्तवमै यसमा निहित अस्वाभाविक बौद्धिक क्षमताका कारण हरेक प्रयोगकर्तालाई आश्चर्यचकित बनाउने क्षमताको छ । बौद्धिकता मानवमात्रैको विशेष क्षमता र गुण मानिएकोमा एआईले यस्तो विशेषता ग्रहण गरेर आफैंलाई बौद्धिकताको स्रोतको रूपमा साबित गरिदिएको छ । कतिसम्म भने बौद्धिक कार्यका लागि मान्छे स्वयम् एआईमा बानी लगाउँदैछ । व्यावसायिक प्रयोजन होस् अथवा व्यक्तिगत समस्या, एआई समाधान बनेर उभिदिएको छ । एआईलाई आम मान्छेसँग सजिलै जोडिदिने र चर्चित बनाइदिने माध्यम भने च्याटबोट्स हो । सोधिएका प्रश्नको तत्कालै उत्तर दिने शैलीले एआई मान्छेको दैनिकीसँग जोडिन सफल भयो । त्यसो त सर्च इन्जिनबाट पनि खोजेका विषय नपाइने होइनन् तर एआईले त्यसमा विवेक प्रयोग गर्ने र तत्काल मान्छेले खोजेजस्तै शैलीमा जवाफ दिने हुँदा यसले आफूलाई विशिष्ट साबित गर्न सकेको छ । एआईको यस्तै विशेषताका कारण व्यावसायिक र व्यक्तिगत कामका लागि प्रयोग निरन्तर बढ्दो छ ।
एआई र मशिन लर्निङ (एमएल) एक अर्कामा अन्तःसम्बन्धित छन् । एमएलले मेटाडेटा अर्थात् असङ्ख्य तथ्यांक र विवरणलाई विश्लेषण गरेर एउटा प्रवृत्ति र ढाँचा प्रदान गर्दछ । त्यसैको आधारमा एआईले हामीले खाजेको जस्तो नतिजा दिन्छ । एमएल एक किसिमको मोडल भएको र बढी प्राविधिक स्तरमा भएकोले प्रयोगकर्ताका लागि एआईजस्तो बढी परिचित छैन । प्रस्तुत लेखमा बैङ्क तथा वित्तीय संस्थामा एआई तथा मशिन लर्निङ (एमएल) को प्रयोग र नेपालको सन्दर्भलाई प्रस्तुत गरिएको छ ।
वित्तीय संस्थालाई लाभैलाभ
आफ्नो सेवा प्रवाहमा एआई तथा मशिन लर्निङको प्रयोग गर्नेमा विश्वभर बैंक तथा वित्तीय संस्थाहरू अग्रणी स्थानमा छन् । गार्टनर, एनभिडिया लगायतको अध्ययनले पनि विश्वका ७० प्रतिशतभन्दा बढी बैंक तथा वित्तीय संस्थाहरूले सन् २०२४ सम्ममा कुनै न कुनै रूपमा एआई तथा एमएलको प्रयोग गरिरहेको अध्ययन प्रतिवेदन सार्वजनिक गरेका छन् । दैनिक प्रशासनिक कामदेखि जटिल वित्तीय परिस्थितिमा निर्णय गर्न पनि ती संस्थाले एआई तथा एमएलको प्रयोग गरिरहेको प्रतिवेदनहरूमा उल्लेख छ ।
वित्तीय संस्थाहरूको सेवा प्रवाहका सम्बन्धमा सेवाग्राहीका धेरै प्रश्न र गुनासाहरू विश्वभर नै हुन्छन् । त्यस्ता प्रश्नहरूको उत्तर दिने र सेवाग्राहीलाई चित्त बुझाउने काम त्यस्ता संस्थाका लागि एउटा ठूलो समस्या नै बनेको छ । त्यसमाथि यसकै लागि कर्मचारीहरू खटाउनुपर्दा त्यसको आर्थिक व्ययभार पनि उत्तिकै हुन्छ । यी सबै परिस्थितिका लागि एआईले सहज समाधान दिएको छ ।
खासगरी एआईमा आधारित च्याटबोट, भर्चुअल असिस्टेन्टजस्ता प्रणाली समावेश गरेर ती संस्थाले ग्राहकका जिज्ञासाको तुरुन्त उत्तर दिने सेवा उपलब्ध गराइरहेका छन् । यस्तो सेवा वित्तीय संस्थाका लागि अहिले नियमित किसिमको सेवा अन्तर्गत नै परेको छ । संस्थाहरूले आफ्नो वेबसाइट अथवा सामाजिक सञ्जालहरू प्रयोग गरेर यस्तो सेवा दिँदै आएका छन् । यससँगै खाताको जानकारी, संस्थाले उपलब्ध गराउने सेवा पनि एआईकै प्रयोगबाट सहजै जानकारी पाउने अवस्था बनेको छ । यसले बैंकको सेवाबारे चौबीसै घन्टा जानकारी लिन सक्ने सुविधा पनि थपिदिएको छ ।

यस्तै शङ्कास्पद कारोबार पहिचान गर्न एआई र एमएलको सहयोग महत्त्वपूर्ण हुन्छ । कुनै सेवाग्राहीले बैंक खाता वा कार्डबाट असामान्य तरिकाले कारोबार गरिरहेको छ भने एआईले त्यस्तो गतिविधिको जानकारी बैंकलाई उपलब्ध गराउँछ । जसले गर्दा त्यस्ता कारोबारप्रति सचेत रहन मद्दत पुग्छ । सेवाग्राहीको विगतको कारोबार तथा भुक्तानी आचरणको विश्लेषण गरेर कर्जा मूल्याकंन गर्न र कर्जा स्वीकृतिमा पनि बैंकलाई एआई प्रणालीले सहयोग पुर्याएको देखिन्छ । खासगरी सेवाग्राहीको आर्थिक तथा सामाजिक व्यवहारको विश्लेषणमार्फत क्रेडिट स्कोरिङ गरेर कर्जा स्वीकृतिमा निर्णय लिन एआईले बैंकलाई सहयोग पुर्याइरहेको छ । यसले कर्जा स्वीकृतिलाई जोखिमरहित बनाउँदै गएको छ । जसले गर्दा खराब कर्जाको अनुपात घट्न पुग्छ ।
बैंक तथा वित्तीय संस्थाका दैनिक प्रकृतिका कामलाई अटोमेशनमा लैजान एआई र त्यसमा पनि मशिन लर्निङको प्रयोगले निकै ठूलो रूपान्तरण ल्याएको छ । चेक प्रोसेसिङ, खाता मिलान, दस्तावेज प्रमाणीकरणजस्ता कामलाई यस्तो प्रणालीले छोटो समयमै गर्न सम्भव बनाएको छ । यसले एकातिर बैंकको ठूलो समय र खर्च बचत गरिदिएको छ भने सेवाग्राहीले पनि समयमै सेवा पाउने सुनिश्चिता प्रदान गरेको छ । अहिले डेटाको गोपनीयतालाई अत्यन्त गम्भीर रूपमा लिइने गर्छ । डिजिटल दुनियाँमा डेटा नै सबैथोक भएकोले यसको सुरक्षा र गोपनीयता कायम गर्न एआई प्रभावकारी बन्न थालेको छ ।
एआई र एमएल प्रणालीले बैंकलाई सेवाग्राहीको बानी व्यहोरा विश्लेषण गरेर व्यक्तिगत वित्तीय परामर्श उपलब्ध गराउन पनि सहयोग पुर्याइरहेका छन् । सेवाग्राहीले गर्ने खर्च तथा कारोबारका आधारमा लगानी र बचतका उपायहरूबारे निर्णय लिने किसिमका परामर्शमा एआई सहयोगी बनेको छ । यसबाट सेवाग्राहीमा वित्तीय अनुशासन बढ्ने र बैंक तथा वित्तीय संस्थालाई पनि त्यसको सकारात्मक प्रभाव पर्ने अवस्था बन्छ । यसबाहेक पनि एआई र एमएलको प्रयोग बैंक तथा वित्तीय संस्थामा थप विस्तार हुँदै गएको छ । समय र मागमा आउने परिवर्तनलाई पनि एआईले सम्बोधन गर्न सक्ने भएकोले बैंक तथा वित्तीय संस्थालाई एआईको प्रयोग अब अनिवार्य बन्न थालेको छ ।
बामे सर्दै नेपाली बैंक
नेपाल राष्ट्र बैंकले ‘सेन्ट्रल बैंक डिजिटल करेन्सी’ अर्थात् डिजिटल मुद्रा निष्काशन सम्बन्धमा नेपालले पनि त्यसतर्फ जानुपर्ने अवधारणा सार्वजनिक गरेको छ । यस्तो अवस्थामा डिजिटल मुद्राको विकास, भुक्तानी लगायतका काममा एआई र एमएलको प्रयोग अनिवार्य नै हुन्छ । यसबाहेक केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थामा एआई तथा मशिन लर्निङको प्रयोगलाई बढावा दिएकै कारण कतिपय संस्थाले निजी स्तरबाट प्रयास शुरू गरेका छन् । खासगरी सेवाग्राहीसँग सहजै पुग्ने र उनीहरूका समस्या समाधान गर्ने हिसाबले ती संस्थाले एआईको प्रयोगलाई प्राथमिकतामा राखेको देखिन्छ । अभ्यासका रूपमा अधिकांश बैंकहरूले आफ्नो आफ्नो वेबसाइटमा च्याटबोट्सको प्रयोग गरेको पाइन्छ । कतिपयले भाइबर, म्यासेन्जर लगायत म्यासेजिङ एपमा पनि च्याटबोट्सको सुविधा उपलब्ध गराइरहेका छन् । नेपालका बैंक तथा वित्तीय संस्थामा एआईको सबैभन्दा सरल र ग्राहकमैत्री प्रयोग पनि च्याटबोट्स नै बनेको छ ।
एआईको प्रयोगमा आफूलाई अग्रणी बनाउने प्रयासमा रहेको ग्लोबल आईएमई बैंकले भिभा नामक एआईमा आधारित च्याटबोट्समार्फत केवाईसी अपडेट गर्ने, बैंकका सेवा सम्बन्धी जानकारी गराउने, पासवर्ड रिसेट गर्नेजस्ता सुविधा प्रदान गरिरहेको छ । त्यस्तै, डिजिटल युनिभर्स लाउन्जमार्फत बैंकले एआईको उपयोग गरी नगद र चेक जम्मा गर्ने मशिनहरू स्थापना गरेको छ । बैंकले २०८२ को तेस्रो हप्ता एआई र मशिन लर्निङ सम्बन्धी ह्याकाथन आयोजना गरेर बैंक तथा वित्तीय संस्थाको जोखिम पहिचान र समाधानमा एआई उपयोग सम्भावना पहिचान गर्ने प्रयास गरेको थियो । चेक क्लियरिङ तथा डिजिटल बैंकिङ कारोबार सेवा उपलब्ध गराइरहेको नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले डिजिटल कारोबारमा हुने ठगी तथा जोखिम घटाउन एआईमा आधारित फ्रड एन्ड रिस्क म्यानेजमेन्ट प्रणाली लागू गर्ने तयारी गरिरहेको छ । यस प्रणालीले खातामा असामान्य रूपमा रकम जम्मा वा कारोबार भएमा त्यसको पहिचान गरेर सम्बन्धित संस्थालाई जानकारी गराउनेछ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि एआईको प्रयोग गरेर ऋण प्रक्रियालाई स्वचालित बनाउने प्रयास गरिरहेको छ । यसले ऋणीहरूको जानकारी प्राप्त गर्ने, जोखिम पहिचान गर्ने र कागजात प्रमाणीकरण गर्ने जस्ता काममा बैंकलाई सघाइरहेको छ । नेपाल एसबीआई बैंकले परी नामक रोबोटको प्रयोग गरेर आफ्ना सेवाग्राहीलाई बैंकको बारे सामान्य जानकारी दिने, प्रश्न सोध्ने र स्वागत गर्नेजस्ता सेवा उपलब्ध गराइरहेको छ । सरकारी स्वामित्वको नेपाल बैंकले पनि एनबीएल मित्र नामक च्याटबोटमार्फत बैंकका प्रडक्ट र ग्राहकका समस्या समाधानमा उत्तर दिने सेवा दिइरहेको छ । नबिल बैंकले पनि एनबैंकमार्फत भर्चुअल शाखा स्थापना गरेर एआई प्रयोगलाई अधिकतम प्रयोग गर्ने प्रयास गरेको छ । त्यसअन्तर्गत बैंकले एआईमार्फत ग्राहकको व्यवहार विश्लेषण, वित्तीय पूर्वानुमानजस्ता सेवा प्रदान गर्दछ ।
एनएमबी बैंकले पनि एनएमबी सापटी नामक एआईमा आधारित ऋण प्रवाह सुविधा शुरू गरेको छ । यसबाट बैंकका ग्राहकहरूले एपबाटै पाँच मिनेटभित्र ऋण स्वीकृति पाउँछन् । एनआईसी एसिया बैंकले पनि फ्लोटबोटको सहयोगमा एआईमा आधारित च्याटबोट बनाएको छ जसले बैंकको ग्राहक सेवा सुधारमा सहयोग पुर्याएको छ । स्टान्डर्ड चार्टर्ड बैंकले पनि एआईमा आधारित च्याटबोटहरू प्रयोग गरेर ग्राहकहरूलाई खाताबारे जानकारी दिने, स्टेटमेन्ट उपलब्ध गराउनेजस्ता सेवा उपलब्ध गराइरहेको छ ।
उल्लिखित उदाहरणहरूले पनि नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा एआईको प्रयोग बढ्दै गएको परिस्थितिलाई देखाउँछ । यसबाहेक बैंकहरूले आफ्नो आन्तरिक प्रणालीमा पनि एआईको प्रयोगमार्फत समग्र बैंकिङ प्रणालीलाई नै सुरक्षित र गुणस्तरीय बनाउने प्रयास गरिरहेका छन् । अधिकांश बैंकहरूको प्रयास सेवाग्राहीसँग प्रत्यक्ष सरोकार राख्ने विषयलाई एआईसँग तादात्म्य गर्ने देखिन्छ । डिजिटल कारोबारमा उल्लेखनीय सफलता हात पारेको नेपालमा अब परम्परागत किसिमको बैंकिङ प्रणालीबाट ग्राहकका समस्या सम्बोधन हुँदैनन् । डिजिटल कारोबारमा अभ्यस्त पुस्तालाई एआईमा आधारित सेवा सुविधा उपलब्ध गराउने र त्यसको प्रयोग सिकाउन धेरै मेहनत गर्नुपर्ने अवस्था छैन । यद्यपि एआईको इकोसिष्टम तयार नभएकोले छुट्टाछुट्टै प्रयोजनका लागि मात्र एआईको प्रयोग भइरहेको स्थिति विद्यमान छ ।
नीतिकै अभाव
एआई र एमएलको नेपालमा प्रयोग जुन गतिमा भइरहेको छ, त्यस हिसाबले यसको नियमन र प्रयोगका नीतिबारे खासै काम भएको देखिँदैन । सरकारले हालै मात्र एआई नीति सार्वजनिक गरे पनि त्यसले एआई प्रयोगका विभिन्न सम्भावना र क्षेत्रका सम्बन्धमा स्पष्ट दिशा तय गरेको देखिँदैन । एआई नीतिगत अवधारणाभन्दा माथि उठ्न सकेको छैन ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाहरूमा एआई तथा एमएलको प्रयोगलाई बढाउने गरी मार्गदर्शन ल्याउने घोषणा गरेको थियो । यद्यपि अहिलेसम्म त्यस्तो मार्गदर्शन आउन सकेको छैन । एआई तथा एमएलको प्रभावकारी प्रयोगलाई बढावा दिन पनि त्यस्तो मार्गदर्शन अत्यन्त आवश्यक छ । यसले एकातिर बैंक तथा वित्तीय संस्थाले कुन कुन कामका लागि एआईको प्रयोग गर्न सक्छन् भन्ने स्पष्ट खाका उपलब्ध गराउँछ भने अर्कोतिर एआईको बढ्दो प्रयोगका चुनौतीप्रति त्यस्ता संस्थालाई सचेत बनाउँदै सुरक्षित रहन सहयोग पुर्याउँछ । अहिलेसम्म बैंक तथा वित्तीय संस्थाले एआईको जति पनि प्रयोग गरिरहेका छन्, त्यो निजी स्तरबाट भएका प्रयास मात्र हुन् । तर त्यसलाई व्यवस्थित र एकीकृत बनाउन पनि मार्गदर्शनको जरूरी हुन्छ । मार्गदर्शनपछि पक्कै पनि नेपाली बैंक तथा वित्तीय संस्थामा एआईको प्रयोग बढ्ने नै छ । त्यसको लाभ बैंकसहित सेवाग्राही र समग्र अर्थतन्त्रले पाउन सक्छ । यसले समग्र बैंकिङ कारोबारलाई पारदर्शी, प्रभावकारी र सेवाग्राहीमैत्री बनाउँछ । परम्परागत किसिमबाट सञ्चालन भइरहेका बैंक तथा वित्तीय संस्थालाई पनि यसले नवप्रवर्तनको मार्गमा ल्याउने अपेक्षा गर्न सकिन्छ ।
(रेग्मी नेपाल आर्थिक पत्रकार समाजका महासचिव हुन् ।)
प्रतिक्रिया