
राजु बास्कोटा
यी पहिलो पुस्ताका स्थापित व्यवसायी हुन्, जो युवापुस्तालाई गाइड गर्नुपर्नेमा छिट्टै धनी हुने महत्त्वाकांक्षाले अनुपालनामा ध्यान न दिँदा असफल दर्ज भए। उनीहरूको अर्को पुस्ता व्यवसायमा आउनै नसक्ने गरी थलिन पुग्यो। छोटो समयमै रोलमोडल बनेका व्यवसायीहरू पलभरमै भुइँ मान्छे बन्दा नयाँ पुस्तामा गलत सन्देश गएको छ। यस आलेखमा पहिलो पुस्ताका आधा दर्जन व्यवसायीहरू कसरी उचाइमा पुगे ? र, कसरी भुइँमा झरे भनी तथ्यमा आधारित विश्लेषण गरिएको छ।
। लक्ष्मीबहादुर–जीतबहादुर
सिन्धुपाल्चोकका नरसिंहबहादुर श्रेष्ठले जग हालेको एनबी ग्रुपलाई उनका छोरा लक्ष्मीबहादुर र जीतबहादुरले अगाडि बढाउदै बैंक, बीमा, जलविद्युत् तथा उद्योग क्षेत्रमा विस्तार गर्दै निकै ठूलो व्यापारिक घराना बनाए । एनबी ग्रुपको ५० प्रतिशतभन्दा बढी लगानी भएका नेपाल बंगलादेश र एनसीसी बैंकको अस्तित्व समाप्त भएको छ भने एनबी इन्स्योरेन्स पनि आईएमई जनरल इन्स्योरेन्समा गाभिएर अस्तित्वमा छैन । यस्तै देशकै पहिलो निजी क्षेत्रले निर्माण गरेको हाइड्रोपावर नेशनल हाइड्रोपावरबाट एनबी ग्रुप करीब निकालिएको छ ।
पब्लिक कम्पनी नै आफ्नो निजीसरह चलाउने एनबी ग्रुपको नीतिले शक्तिकेन्द्र रिझाउन सफल भए तर व्यवसाय अघि बढेन ।
एनबी ग्रुपको परिवारका सदस्यहरूबीच सम्पत्ति हस्तान्तरणको विषयमा सधैं किचलो परिरहन्थ्यो, जसकारण नेपालमा धेरैवटा बिजनेसको शुरूआत गर्ने यो समूह अहिले धूलिसात् भएको छ । बदनाम छ । एनबी ग्रुपका अधिकांश सदस्यलाई बैंकिङ कसुरको मुद्दा लागिसकेको छ भने बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा नतिरेपछि कालोसूचीमा पनि परेका छन् । बैंकिङ कसुरको मुद्दाबाट भने शक्तिकेन्द्रसँग उठबसले उम्किए ।

बैंकिङ कसुरको मुद्दा परिवारका सदस्यलाई लाग्ने भएपछि जीतबहादुर श्रेष्ठ र उनका छोराहरूको नाममा रहेको सम्पत्ति लक्ष्मीबहादुरका छोरा एल्सन श्रेष्ठको नाममा सारिए पनि सर्वोच्च अदालतले उनीहरूलाई सफाइ दियो । अमेरिकामा बस्ने लक्ष्मीबहादुरका छोरा एल्सन श्रेष्ठ एनबी ग्रुपले ऋण लिएका कम्पनीको व्यवस्थापक र सञ्चालक थिएनन् । एनबी ग्रुपका लक्ष्मीबहादुरका दुईवटा छोरा एल्सन र विल्सन श्रेष्ठ हुन् भने जीतबहादुरका छोराहरू जेन, जस र जीवेश श्रेष्ठ हुन् । जीतबहादुर कालोसूचीबाट हटेपछि एल्सनको नाममा नामसारी भएको सम्पत्ति फिर्ता गर्न भनेका थिए । सम्पत्ति विवाद भएसँगै एनबी ग्रुप टुक्रियो । एनबी ग्रुपको नेतृत्व लक्ष्मीबहादुरले गरे, जीतबहादुरले जेन ग्रुप खोले ।
जीतबहादुर आफूले विश्वास गरेर अधिकार दिएको व्यक्तिले इमानदारीपूर्वक काम नगरेकाले ग्रुप छाडेको बताउँछन् । लक्ष्मीबहादुर भने जीतबहादुरको परिवारले धोका दिएको आरोप लगाउँछन् ।
स्थापित एउटा व्यावसायिक समूहमा देखिएको किचलो र असफलता नयाँ पुस्ताका लागि झस्काउने अस्त्र नै बन्यो । एनबी ग्रुपका जीतबहादुर र लक्ष्मीबहादुर दाजुभाइबीचको सम्पत्ति विवादले यसका स्थापित व्यवसाय तितरवितर मात्रै भएनन् उनीहरूको साख समेत शून्यमा झर्यो ।
। पीयूषबहादुर अमात्य
सन् १९९८ मा नेपालले पहिलोपटक नेपाल भ्रमण वर्ष मनाएको बेला पोखरामा १६५ कोठाको एउटा रिसोर्ट खुल्यो । ‘वन अफ द ग्रेटेस्ट होटल इन द वल्र्ड’ थिममा खुलेको ‘फूलबारी रिसोर्ट’ थियो त्यो । पोखरामा ४०० रोपनीको विशाल क्षेत्रफलमा फैलिएको रिसोर्ट शुरू गर्ने व्यवसायी थिए, दरबारनिकट पीयूषबहादुर अमात्य । तत्कालीन समयमा फूलबारीलाई नेपालको मात्र नभई दक्षिण एसियाकै ठूलो रिसोर्ट मानिन्थ्यो । रिसोर्ट लामो समयसम्म गज्जबले चल्यो, अमात्यले मनग्गे पैसा पनि कमाए । तर, विडम्बना खानदानी व्यवसायी अमात्यको ‘डाउनफल’को कारण पनि त्यही फूलबारी रिसोर्ट नै बन्यो ।
राजा र राजपरिवारका व्यक्ति विदेशमा जाँदा व्यक्तिगत रूपमा डलर व्यवस्थापन गर्न सक्ने हैसियत भएका अमात्यको बायोडाटामा फूलबारीको असफलताले बैंक डिफल्टरका रूपमा खराब चरित्रको परिचय थपिदियो । जीवनको धेरै कालखण्डमा सफल उनी उत्तरार्धमा आइपुग्दा असफलताको ट्याग भिर्न बाध्य भए ।

फूलबारी ओरालो लाग्नुका कारण विभिन्न छन् । माओवादी सशस्त्र द्वन्द्व, दरबार हत्याकाण्ड र पीयूषबहादुर आफ्नै एटिच्युड । देशमा संकटकाल लागेपछि पर्यटकको संख्या घट्दै गयो । साथै, अमात्यले शुरू गरेका एभरेस्ट बियर र स्टीलका अन्य व्यवसायसमेत सफल भएनन् । २०६२/६३ पछि शान्तिप्रक्रिया शुरू भयो । त्यसपछि नेपालमा पर्यटकको संख्या बढ्न थाल्यो । माओवादी शान्ति प्रक्रियामा आएपछि उद्योग तथा प्रतिष्ठानमा श्रमिक आन्दोलन चर्कियो, जसको असर फूलबारीले थेग्न सकेन । अमात्यको शक्ति दरबार थियो, दरबार नै शक्तिहीन भएपछि उनले व्यवसाय चलाउन सकेनन् । बैंकसँग नेगोशिएशनमा गएर कर्मचारी व्यवस्थापन गरेपछि होटल चल्न सक्ने थियो तर अमात्य रुग्ण उद्योगमा पारेर सुविधा लिने खेलमा लागे । अवस्था यतिसम्म खराब भइदियो कि रिसोर्टले कर्मचारी र कामदारलाई नियमित तलब दिन सकेन, उल्टै अवकाश दियो । लामो समयसम्म बैंक र रिसोर्ट सञ्चालक पीयूषबहादुरबीच विवाद भयो । ऋण लिएदेखि पीयूषबहादुरले केही करोड मात्रै तिरेका थिए, रिसोर्ट बन्द भएपछि उनले बैंकको साँवा–ब्याज तिरेनन् । बैंक र अमात्यबीच लामो समय छलफल र वार्ता पनि हुन सकेन । फलस्वरूप बैंकले उनलाई कालोसूचीमा राख्यो । उनका काठमाडौंलगायत अन्य ठाउँमा रहेका जग्गा पनि रोक्का भए ।
२०६५ वैशाखमा अमात्यले जसरी पनि रिसोर्ट सञ्चालन गर्ने आश्वासन दिएपछि नेपाल बैंकले कालोसूचीबाट हटाउँदै सोही वर्षको जेठमा ऋण असुली न्यायाधिकरणबाट समेत मुद्दा फिर्ता लियो । तर, अमात्यले ऋण सल्टाउन गरेको प्रयासले काम गरेन । त्यसको ६ वर्षपछि नेपाल बैंकले १५ दिने सूचना र २०७२ सालमा ३५ दिने सूचना प्रकाशित गर्यो । तर, अमात्यले ऋण तिर्न कुनै चासो देखाएनन् । शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला उनको ब्याज मिनाहा गरिदिएर ऋण तिर्ने प्रयास भएको थियो । तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैंक व्यवस्थापनलाई दबाब पनि दिए, तर सफल हुन सकेनन् ।
यसबीचमा अमात्यले चिनियाँ व्यापारीलाई १० अर्ब रुपैयाँमा ८० प्रतिशत शेयर बेच्ने कसरत नगरेका होइनन्, तर त्यो पनि सफल भएन । उसो त अमात्यले २०७३ सालमा साँवामात्रै बुझाउने प्रस्ताव पेस गरे । रुग्ण उद्योगका रूपमा साँवाबापतको १ अर्ब ३१ करोड रुपैयाँ लिएर बैंकसमक्ष पुगेका अमात्यको प्रस्ताव बैंकले अस्वीकार गरेपछि त्यत्तिकै तुहियो । नेपाल बैंकले उक्त ऋणलाई २०७६ मा पुनः संरचना गर्यो । र, साँवा १ अर्ब ३१ करोड र साधारण ब्याजमात्रै २ अर्ब ३६ करोड रुपैयाँ गरी कुल ३ अर्ब ४७ करोड रुपैयाँ निस्कियो । त्यसपछि अमात्यले रिसोर्ट सञ्चालन गर्ने तर यसका लागि २५ करोड रुपैयाँ थप ऋण आवश्यक भएको प्रस्ताव बैंकसमक्ष पेश गरे । तर, अब भने अन्तर्राष्ट्रिय चेन होटल मेरियटले रिसोर्ट सञ्चालन गर्ने भन्ने प्रस्ताव पेश भयो । अमात्यको भनाइअनुसार २०७७ वैशाखबाट मेरियटले रिसोर्ट सञ्चालन गरिसक्नुपर्ने थियो ।
लामो समयसम्म पनि रिसोर्ट सञ्चालनमा नआएपछि अमात्य र बैंकबीच कैयौंपटक छलफल भए । तर, निचोड निस्केन । अमात्यसँगको छलफल सकारात्मक नभएपछि कन्सोर्टियम लिड गरेको नेपाल बैंकले २०७९ असार ३ गते रिसोर्ट लिलामीको सूचना निकाल्यो । लिलामी रोक्न माग गर्दै अमात्यले उच्च अदालत पाटनमा मुद्दा दर्ता गरे । बैंकले कानूनी प्रक्रिया शुरू गरेपछि अमात्यले विभिन्न शक्तिकेन्द्र र अदालत प्रयोग गरेर प्रक्रिया अघि बढ्न दिएनन् । तर अदालतले लिलामी प्रक्रिया रोकेन । अमात्यले अन्ततः विदेशी साझेदार भित्र्याएर रिसोर्ट सञ्चालन गर्ने प्रक्रिया अघि बढाए । लामो समयको छलफलपछि रिसोर्टले २ अर्ब ७५ करोड तिर्ने र २०८० असार मसान्तभित्र बैंकले सम्पत्ति फुकुवा गर्ने समझदारी भयो ।
रिसोर्टलाई पुनः व्यवस्थित ढंगले चलाउन म्यारिएट डीसँग सम्झौता गरिसकेको भन्दै बैंकले छिटो काम गरिदिए भने छिटो रिजल्ट निस्कने आशमा छन्, पीयूषबहादुर । तर, अब उनी रिभाइभ हुने अवस्थामा छैनन् ।
। सुधीर बस्नेत
डेढ दशकअघि सफलता चुमेर नेपाली बिजनेस कम्युनिटीका नवोदित राजकुमारको पहिचान बनाएका सुधीर बस्नेत व्यवसायको शिखरमा अडिन नपाउँदै ग्वार्लाम्म भुइँमा झरे । काठमाडौंमा जग्गा खण्डीकरण गरी अग्ला बिल्डिङ ठड्याएर अनि सहकारीमा उच्च ब्याज दिएर आम मान्छेको मन जित्न सफल सुधीर अहिले असफल व्यवसायीको सूचीको अग्रपंक्तिमा छन् ।
२०६२/६३ देखि २०६५/६७ सालसम्म सुधीरले एक वचनमै करोडौं बटुल्थे । बैंकदेखि सर्वसाधारणसम्म सुधीरलाई पैसा दिन लालायित हुन्थे । सुधीरको ओरिएन्टल सहकारीमा बचत गरेका बचतकर्ताले अहिलेसम्म बचत फिर्ता पाउन सकेका छैनन् भने हाउजिङ र अपार्टमेन्टका बुकिङकर्ताले अहिलेसम्म घरबारविहीन हुनुपरेको छ । अति महत्त्वाकांक्षा र अव्यवस्थित म्यानेजमेन्टले बस्नेतलाई असफल बनायो । धेरैपटक सुधीर प्रहरीको कस्टडीमा पनि पुगे । सुधीरलगायतको समस्या समाधान गर्न सरकारले अधिकारसम्पन्न आयोगहरू पनि गठन गरिसकेको छ । यद्यपि, अहिलेसम्म समस्या ज्यूँकात्यूँ छ ।
समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन गर्न सरकारले गठन गरेको अधिकारसम्पन्न समितिको प्रतिवेदनअनुसार बस्नेतले ओरिएन्टल सहकारीका निक्षेपकर्ता, विभिन्न हाउजिङ तथा अपार्टमेन्टका बुकिङकर्ता, बैंक, व्यक्ति र सरकारलाई तिर्नुपर्ने कर दायित्व गरी कुल १६ अर्ब रुपैयाँभन्दा बढी तिर्नुपर्नेछ । यसबीचमा सुधीरले सुध्रिने प्रयास गरे । २५/३० करोड रुपैयाँ बचतकर्तालाई फिर्ता पनि गरे । तर जहाँ पुगेर ढले अब फेरि त्यहाँ पुग्न सक्ने छैनन् ।

। कमल ज्ञवाली
२०६२/६३ सालतिर काठमाडौंमा घरजग्गाको भाउ आकासियो । ज्ञवाली घरजग्गाको कारोबारमा सक्रिय भए । साझेदारीमा जग्गा प्लटिङ पनि गर्थे उनी । बैंकहरूले पनि घरजग्गाको प्लटिङमा ठूलो लगानी गरेका थिए । तत्कालीन किस्ट बैंक त घरजग्गामा लगानी गर्ने बैंकमा अग्रपंक्तिमै पथ्र्यो । किस्ट बैंकका प्रबन्ध सञ्चालक थिए ज्ञवाली ।
पैसा कमाउन आक्रामक तरिकाले लागेका ज्ञवालीले छोटो समयमै मनग्गे पैसा कमाए । २०५२ सालमा १० हजार रुपैयाँ बोकेर गुल्मीबाट उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आएका ज्ञवालीले १०/१२ वर्षमै ३ अर्ब रुपैयाँको हाराहारीमा सम्पत्ति कमाइसकेका थिए । त्यो सबै कमाइको स्रोत शेयर र घरजग्गा थियो ।
घरजग्गाकै कारण सन् २००८ को विश्व आर्थिक मन्दी आयो । तत्कालीन गभर्नर डा. विजयनाथ भट्टराईको पालामा राष्ट्र बैंकले २०६६ पुस २ गते घरजग्गा क्षेत्रमा २५ प्रतिशतभन्दा बढी लगानी नगर्न बैंकहरूलाई परिपत्र गर्यो । राष्ट्र बैंकको त्यही परिपत्रपछि नेपालमा पनि घरजग्गा करोबारमा मन्दी आयो । ज्ञवालीले ५० करोड रुपैयाँभन्दा बढी घरजग्गामा लगानी गरेका थिए । २०६७ सालतिरको बजार मूल्यअनुसार उनीसँग २ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको शेयर थियो । त्यसबेला ज्ञवाली नेपालका धनीहरूको सूची निकाल्नुपर्यो भन्थे किनकि उनी आफूलाई देशकै धनाढ्य व्यक्तिहरूमध्ये एक ठान्थे ।
किस्ट बैंकमा मात्र ज्ञवालीसँग आफ्नो र अरूको नाममा गरी ४० लाख कित्ताभन्दा बढी शेयर थियो । सिद्धार्थ डेभलपमेन्ट बैंक लगायतमा पनि उनको शेयर थियो । २०६६ पछि घरजग्गाको कारोबार ठप्पजस्तै भयो । शेयर बजार लगातार घट्यो । लगानीयोग्य पूँजी अभाव लगायतका समस्याका कारण बैंकिङ क्षेत्र ठूलो दबावमा पर्यो । १ वर्षको अवधिमा भएका यी ३ वटा घटना ज्ञवालीका लागि आकाश खसेझैं भयो । आफूसँग भएको शेयर र घरजग्गा बेचेर त्यसबेलै ऋण सल्ट्याएका भए उनी यस स्थितिमा आइपुग्ने थिएनन् । तर, केही समयमै घरजग्गा र शेयरको मूल्यमा सुधार आउला भन्ने आशामा उनले पहिलेको ऋण थेग्न ऋणमाथि ऋण थपे ।

परिस्थित झन् भयावह बन्दै गयो । संकट टरेन । उनी झन् समस्यामा फस्दै गए । समस्यामा फसिरहेका बेला ज्ञवालीविरुद्ध राष्ट्र बैंकमा उजुरी पर्यो । त्यसबेला गभर्नर थिए डा. युवराज खतिवडा । ज्ञवालीसँग खतिवडाको इगो प्रोब्लम थियो ।
ज्ञवाली गभर्नरका लागि नाम सिफारिसमा परेका तत्कालीन डेपुटी गभर्नर वीरविक्रम रायमाझीलाई गभर्नर बनाउन लबिइङ गर्दै हिँडेका थिए । तर, खतिवडा गभर्नर भए । खतिवडाले ज्ञवालीलाई सिध्याउने दाउ कुरेर बसिरहेका बेला उजुरी पर्यो ।
उजुरीका आधारमा राष्ट्र बैंकले २०६९ सालमा छानबिन गर्दा ज्ञवालीले १२ करोड पर्ने धितोमा साढे १५ करोड रुपैयाँ ऋण दिएको देखिएपछि जम्को प्रकाशन प्रालिबाट साढे ३ करोड रुपैयाँ तत्काल उठाउन निर्देशन दियो । किस्टले जम्कोबाट साढे ३ करोड रुपैयाँ तत्कालै उठायो पनि । सो काण्डमा राष्ट्र बैंकले ज्ञवालीलाई ५ लाख रुपैयाँ जरिवाना तिरायो । तर, ऋणी किशोर ढकाललाई भने बैंकिङ कसूर अन्तर्गत मुद्दा दायर गर्न सीआईबीलाई पत्राचार गरियो । सीआईबीको अनुसन्धानमा ढकाललाई दिएको ऋण ज्ञवालीले नै प्रयोग गरेको खुलेपछि उनीविरुद्ध प्रहरीले मुद्दा दर्ता गर्यो । पाटन उच्च अदालतले जेल र ६ करोड ६५ लाख रुपैयाँ बिगो जरिवानाको फैसला सुनायो । प्रहरीले उनलाई भारतको नयाँदिल्लीबाट २०७५ असोज १५ गते पक्राउ गर्यो । अहिले उनी जेल सजाय भुक्तानी गरिरहेका छन् ।
ज्ञवालीविरुद्ध सीआईबीले ठगी आरोपमा मुद्दा दायर गरेपछि किस्ट बैंकले आफ्नो अस्तित्व गुमायो । तत्कालीन प्रभु विकास बैंकले २०७१ भदौ ३० गते किस्ट बैंकलाई गाभेर एकीकृत कारोबार शुरू गर्यो । किस्ट किनेको प्रभुले भने २०७१ माघ १३ गते ज्ञवालीको बैंकमा रहेको शेयर बेचेर सावाँब्याजसहित २३ करोड रुपैयाँ असुल पनि गरिसकेको छ ।
ज्ञवालीलाई नजिकबाट चिन्नेहरूका अनुसार ज्ञवाली अति नै महत्त्वाकांक्षी थिए । महत्त्वाकांक्षाकै कारण उनी मध्यमवर्गीय परिवारबाट अर्बपति बने र सडकमा झरे ।
। इच्छाराज तामाङ
इच्छाराज तामाङ अर्थात् सिभिल होम्स, सिभिल सहकारी, सिभिल ग्रुप र सिभिल बैंकका अध्यक्ष । नेपाल कम्युनिष्ट पार्टी एमालेका समानुपातिक सभासद पनि । सिभिल होम्सका नाममा नेपालमा व्यवस्थित बसोबास निर्माण गर्ने क्रममा व्यवसायको आकार बढ्दै जाँदा पैसाको थुप्रोले किचेर उठ्नै नसक्ने अवस्थामा पुगे उनी ।
उनको ठगीको जालोमा सयौं मान्छे परे । तामाङले प्रत्येक व्यक्तिबाट ४ हजारदेखि १४ करोड रुपैयाँसम्म ठगी गर्न भ्याए । यतिधेरै व्यक्तिलाई ठगी गर्न सानो समय खर्चेका छैनन् उनले । आफ्नो कम्पनीमा विश्वास गरेर आएका सदस्यलाई दुई दशकदेखि जालोमा पारे । २०५७ सालमा १ लाख रुपैयाँ शेयर लगानी गरेर ठगीको जालो फिँजाएका तामाङ डेढ दशकमै अर्बौंका मालिक बने ।
यस अवधिमा उनको शानशौकत र ऐश्वर्यको ग्राफ उकालो मात्रै थियो । डेढ दशकअघि नै व्यक्तिगत सुरक्षा गार्ड लिएर हिँड्ने तामाङसँग कीर्तिपुरमा १० रोपनीमा बनेको २६ हजार वर्गफिटको अलिशान बंगला थियो । घरभित्र छिर्न धेरैवटा कम्पाउन्ड क्रस गर्नुपथ्र्यो भने कार्यालय रहेको सीटीसी मलमा उनको निजी लिफ्ट थियो । उच्च राजनीतिक नेतृत्वसँगको हिमचिम कम्ता थिएन तामाङको । उनी आफूले चाहेजस्ता नीतिनियम बनाउन सक्थे, पैसाको आडमा एमालेका तर्फबाट संविधानसभाका सभासदसमेत बने ।

सहकारी, बैंक र व्यक्तिबाट ऋण लिएर घरजग्गा व्यवसायमा लगानी गर्दै आएका तामाङले शुरूमा राम्रो नाफा कमाए । त्यसपछि अन्धाधुन्ध ऋण लिएर लगानी विस्तार गरे । एउटा यस्तो समय थियो बैंकका सीईओहरू तामाङलाई ऋण लिइदिनुपर्यो भन्दै घरसम्मै धाउँथे । तर, व्यवसायको चक्र बिग्रिएपछि बिस्तारै नगद प्रवाहको समस्या भयो । आफूसँग भएको सम्पत्ति बेचेर ऋण तिर्नुपर्नेमा सहकारीका बचतकर्ताको पैसा निजी कम्पनीमा हाले । बचतकर्ताको रकम बैंकको किस्ता तिर्न प्रयोग गरे । त्यहीँबाट शुरू भएको उनको ओरालो यात्रा राजनीतिक शक्ति र पैसाको आडमा केही वर्ष रोकिए पनि अन्ततः ढले । एमाले अध्यक्ष केपी ओलीसँग घनिष्ठ सम्बन्ध रहेका तामाङ शक्ति, सत्ता, पैसा र सन्कीपनको भरमा जसलाई जति ठगे पनि पचाउन सक्छु भन्ने मानसिकताले ग्रसित थिए । उनको ठगीले सीमा नाघेपछि ओलीले साथ छोडिदिए । अन्ततः उनी प्रहरी हिरासतमा पुगे । ठगीको जालोले ठडिएको तामाङको अर्बौंको साम्राज्य गल्र्यामगुर्लुम्म ढलेको छ । २०७८ असोज १८ गते पक्राउ परेका तामाङमाथि सिभिल बचत तथा ऋण सहकारीका १५०३ सदस्यको उजुरीका आधारमा ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार रुपैयाँ बिगो र ८ वर्षको कैद सजाय मागसहित २०७८ मंसिर १७ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भयो ।
हाउजिङका बुकिङकर्ता ठगिएको उजुरीका चाङ पनि उस्तै छन् । हाउजिङ निर्माणका लागि आवश्यक पर्ने निर्माण सामग्री सप्लाई गर्ने कम्पनीलाई समेत उनले ठगेका छन् । कतिपय व्यक्तिलाई तामाङले जग्गा दिने भनेर पैसा लिने तर जग्गा पास गरेर नदिने, घर दिने भनेर पैसा लिने तर घर पास गरेर नदिने, लिएको पैसा पनि फिर्ता नगरेर ठगे । घरजग्गा र शेयर बजार उच्च मूल्यमा पुगेका बेला उनीसँग करीब १२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति भए पनि कतिपय बैंकले लिलामी गरिसकेका छन् । सहकारी ठगीमा मुद्दामा प्रहरीको केन्द्रीय अनुसनधान ब्यूरोले २०७८ सालमा तामाङ र सहकारीका तत्कालीन अध्यक्ष रहेका केशवलाल श्रेष्ठसहितलाई १ हजार ५०३ जना बचतकर्ताको जाहेरीको आधारमा ५ अर्ब ६७ करोड ५५ लाख रुपैयाँ बिगो मागदाबीसहित प्रतिवेदन बुझायो । सहकारी वकिलको कार्यालय काठमाडौंले उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतमा ठगी मुद्दा दर्ता गर्यो । उक्त ठगी मुद्दा पूर्वपक्षका लागि थुनामा रहेका तामाङ र केशवलाल श्रेष्ठविरुद्ध २०८१ असारमा ७ करोड ८८ लाख ४५ हजार बिगो भराउनुपर्ने माग गर्दै पूरक अभियोग दर्ता भयो ।
विशेष अदालतबाट दोषी ठहर भएपछि इच्छाराजसहित पत्नी सिर्जना र मामाससुरा केशवराजलाई कैद सजाय र जरिवाना सुनाइयो । उनीहरूको सम्पत्ति जफत भयो । तामाङ अहिले ३ वर्षे जेल सजाय भुक्तान गरिरहेका छन् ।
। विनोदबहादुर श्रेष्ठ
नेपालको हवाई उड्डयनमा स्थापित ब्राण्ड बनिसकेको र स्थापनाको १३ वर्षमा १३ वटा जहाजमार्फत आन्तरिक उडानमा एकछत्र राज गरिसकेको नेकोन एयर डुब्यो । नेकोनले दुईवटा न्यारोबडी जहाज ल्याएर अन्तर्राष्ट्रिय उडानसम्मको योजना बनाएको थियो ।
२०४८ सालमा स्थापना भएको नेकोन एयरले सर्वसाधारणलाई १७ करोड ९२ लाख रुपैयाँको शेयर जारी गरेको थियो । त्यसपछि भने सञ्चालकहरूले नै आफ्नो लगानी उठ्यो भन्दै एयरलाइन्सलाई दोहन गर्न थाले । जसकारण तत्कालीन नेकोन एयरका सञ्चालकहरू विनोदबहादुर श्रेष्ठ, दीपकराज कोइराला, दीपमणि राजभण्डारी, मृगेन्द्र जोशी, मुकुन्दभक्त श्रेष्ठ र रवीन्द्रलाल श्रेष्ठ कर्जा सूचना केन्द्रको कालोसूचीमा छन् ।
सञ्चालक नै फरार भएपछि एउटा स्थापित भइसकेको र नाफामा चल्दाचल्दैको वायुसेवा बन्द भयो । नेकोनपछि हालसम्म नेपालका कुनै पनि एयरलाइन्स कम्पनी पब्लिक छैनन् । नेकोनले सर्वसाधारणलाई १७ करोड ९२ लाख रुपैयाँको शेयर जारी गरेको थियो । नेपाल स्टक एक्सचेन्जले यसको सूचीकरण खारेज गरिसकेको छ । २०४८ सालमा स्थापना भएको नेकोन एयर छोटो समयमा सफलता सहित कहिल्यै उठ्न नसक्ने गरेर हराएको कम्पनी हो । वर्षको चार महिना बराबरको तलब बोनस दिने कम्पनी सञ्चालकको कमिसन मोहले गर्दा डुबेको हो । चार महिनाको नाफाको बोनस खुवाउने नेकोन एयरले अहिलेसम्म पनि कर्मचारीको तलब भुक्तानी गर्न सकेको छैन । तलबबापत ५ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । बन्द भएको नेकोन एयरको पुरानो जहाज म्युजियममा देख्न सकिन्छ ।

। चण्डीराज ढकाल
चण्डीराज ढकालले सन् १९९६ मा २९ करोड रुपैयाँ ऋण लिएर खोलेको मोमेन्टो अपारल्ज नामक गार्मेन्ट उद्योग एक दशकमै नेपालको स्थापित कम्पनी बन्न पुगेको थियो ।
नेपालकै सबभन्दा ठूलो गार्मेन्ट उद्योग बन्न सकेको र निर्यातका हिसाबले उत्कृष्ट कम्पनी बनेको मोमेन्टोले ४ हजार जनालाई रोजगारी दिन थालेको थियो । लगातार ४ वर्ष सबैभन्दा बढी विदेशी मुद्रा भित्र्याएको भन्दै मोमेन्टोलाई सरकारले सम्मान पनि गरेको थियो । सन् २०१२ मा मोमेन्टो बन्द भयो । व्यवसाय स्थापित भइसकेपछि त्यसलाई जोगाउन नसकेका कारण चण्डीराज बैंकको कालोसूचीमा मात्रै परेनन्, असफल व्यवसायी सूचीमा दर्ज भए ।
निजी क्षेत्रकै सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघका शक्तिशाली अध्यक्ष भएर रजगज गरेका ढकाल असफल व्यवसायीको सूचीमा परेपछि हराउँदै गए । उद्योग बन्द भएपछि स्थिर सम्पत्ति बिक्री गरेर भए पनि राष्ट्रिय वाणिज्य बैंकको ऋण तिर्न लागेका भए रिभाइभ हुन सक्थे । तर उनी मन्त्री, प्रधानमन्त्री, शक्तिशाली नेता, गभर्नर, सचिव, प्रहरी प्रशासन लगायतलाई भनसुन गर्न लगाएर थामथुम गर्दै बसे ।
सुरज वैद्य महासंघको अध्यक्षमा चुनिएको बेला चण्डीलाई ऋणमुक्त हुने अवसर थियो । केही व्यवसायीहरू मिलेर चण्डीलाई ऋणमुक्त गराउन लागिपरे । यतिसम्म कि चण्डीराजसँगै सुरज पनि बैंकसँग नेगोशिएशन गर्न गए । त्यो बेला चण्डीले तिर्नुपर्ने करिब अर्ब रुपैयाँ थियो । लामो छलफलपछि ५५ करोड रुपैयाँ तिर्ने भए बैंकले लिलामी प्रक्रिया अघि नबढाउने समझदारी भयो । तर, उनले आफूसँग १०/१५ करोड रुपैयाँमात्रै भएको भन्दै त्यत्रो पैसा तिर्न नसक्ने बताए । त्यसपछि महासंघको नेतृत्वले बैंक र अर्थ मन्त्रालयसँग चण्डीको ऋण असुलीको विषयमा छलफल गर्यो । महासंघ नेतृत्वले दबाब दिएपछि बैंकले ५० करोड रुपैयाँ तिरे पुग्छ भन्यो । चण्डीले केही दिनको समय मागे । तर, हप्तादिन पछि आएर ५० करोड पनि बढी भयो ४० करोड पनि ‘तिर्न सक्दिनँ’ भन्ने जवाफ दिए । त्यसपछि चण्डीलाई ऋणमुक्त बनाउन लागेका सुरज वैद्य, भाष्करराज कर्णिकारहरू जिल्ल परे । र, उनीहरूले यो विषयमा लबिइङ गर्न छाडिदिए । ऋण नतिर्नका लागि बन्द भएको आफ्नो उद्योगलाई रुग्ण उद्योगमा राख्न सरकारी अधिकारीहरूलाई चण्डीले दबाब दिए । महासंघ नेतृत्वले पनि तीव्र लबिइङ गर्यो । तर त्यो योजना सफल भएन । २०७५ पछि पनि चन्डीलाई ऋण तिर्न दबाब बढ्यो । २०७६ को कोरोना महामारीले दबाब केही कम भयो । यसबीचमा ढकालले विदेशी साझेदार ल्याउने प्रयास गरे तर अहिलेसम्म पनि सफल भएका छैनन् ।

ढकालले दुबईको पर्फेक्ट इन्डस्ट्रिज ग्रुपलाई साझेदार बनाएर भित्र्याउने र बैंकको ऋण पनि तिर्ने प्रस्ताव पेश गरे । विदेशी साझेदार भित्र्याउने प्रस्ताव ल्याएपछि ऋणको पुनःसंरचना गर्ने, पुनःसंरचना गरिसकेपछि धितोको मूल्यांकन गर्ने र त्यसका आधारमा आयोजना अघि बढाउने समझदारी बन्यो ।
राष्ट्रिय वाणिज्य बैंकको २९ करोड साँवा, त्यसको ब्याज र हर्जाना जोड्दा १ अर्ब रुपैयाँ बढी असुल्न बाँकी देखियो । बैंकले साँवा बराबर ब्याज अर्थात् ५८ करोड रुपैयाँ तिर्नुपर्छ भन्यो । चण्डीले ५० करोड रुपैयाँ तिर्छु भनेका थिए, रकमको फाइनल नेगोशिएशन हुन बाँकी भए पनि लगभग टुंगिएको थियो ।
एउटा मिलनविन्दु खोजियो । त्यसका लागि चण्डीले बैंकलाई टोकन मनीका रूपमा १० करोड रुपैयाँ तिर्नुपर्ने, सम्पत्तिको स्वघोषणा गर्नुपर्ने र रुग्ण उद्योगमा चलिरहेको प्रक्रियाको बारेमा एउटा चिठ्ठी ल्याउन बाँकी थियो । त्यो चण्डीले दिन सकिरहेका छैनन् । निजी क्षेत्रको सर्वोच्च संस्था हाँकेका चण्डी व्यवसायमा भने असफल भए ।
०००
पहिलो पुस्ताका स्थापित यी व्यवसायीहरू महत्त्वाकांक्षा र गलत व्यवस्थापनका कारण डुबेको प्रतिनिधिमूलक उदाहरण मात्रै हुन् । यी बाहेकका अन्य व्यापारी, उद्योगी, बैंकरदेखि सहकारी सञ्चालकसम्म डुबेका छन् । व्यवसायी डुब्ने र पहिलो पुस्ताको असफलताले नयाँ पुस्तालाई झस्काउने कारण अनेकौं छन् । पछिल्लो समय सहकारी अभियानबाट साम्राज्य खडा गरिरहेका जीबी राई, केदारनाथ शर्मा, केबी उप्रेती, सुरेन्द्र भण्डारी, रवीन्द्र चौलागाईं लगायत व्यक्तिहरू भुइँमा बजारिएका छन् । सूर्यदर्शन, आइडियल यमुना, शिवशिखर, गौतमश्री, पशुपति, लालीगुराँस, इमेज, देउरालीसहितका ठूला सहकारी डुबेका छन् । पहिलो पुस्ताका असफल व्यवसायीलाई देखेका, भोगेका र त्यसबाट पाठ सिकेका कतिपय दोस्रो पुस्ता जमेर व्यापार व्यवसायमा आउनसमेत धडराएका छन् । व्यावसायिक साम्राज्य खडा गरेका व्यक्ति उचाइबाट सडकमा झरे, तिनैका कारण अर्थतन्त्रलाई धक्का दिने कामसमेत भएको छ ।
प्रतिक्रिया