
विश्वकै अग्रणी आर्थिक विशेषज्ञ मानिने मार्क कार्नीले गभर्नरका रूपमा क्यानडा र बेलायतलाई आर्थिक संकटको भुमरीबाट बाहिर निकाले । अहिले उनी अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सिर्जना गर्न खोजेको राजनीतिक संकटसँग क्यानडाको प्रधानमन्त्रीका रूपमा जुधिरहेका छन् ।
सन् २००८ मा अमेरिकाबाट शुरू भएको विश्वव्यापी वित्तीय संकटको पहिलो असर क्यानडामा पर्न थालेको थियो । छिमेकी देश अमेरिकामा ‘सबप्राइम मोर्टगेज’का कारण बैंकहरू ढल्न थालेकै बेला मार्क जोसेफ कार्नी भर्खरै क्यानडाको केन्द्रीय बैंकका गभर्नर नियुक्त भएका थिए ।
त्यतिबेला कार्नीले अपनाएका रणनीतिले क्यानडामा विश्वव्यापी वित्तीय संकटको प्रभाव न्यून गर्न सहयोग गर्यो । आपतकालीन मौद्रिक नीति ल्याएर कार्नीले ब्याजदरलाई ०.२५ प्रतिशतमा झारेर इतिहासकै न्यूनतम विन्दुमा पुर्याए । बैंकहरूलाई सहज ऋण उपलब्ध गराएर व्यवसाय तथा उपभोक्ताको खर्च क्षमता अभिवृद्धि गरे । अमेरिकी ‘सबप्राइम मोर्टगेज’ संकटबाट सिकेर क्यानडाका बैंकहरूमा कडा पूँजी पर्याप्तताको प्रबन्ध गरे ।
परिणामस्वरूप, क्यानडेली बैंकहरू डुब्नबाट बचे र देशले बेलायत वा अमेरिका जस्तो गम्भीर ‘बैंक फेलर’को समस्या झेल्नुपरेन।
कार्नीले सार्वजनिक रूपमै ‘ब्याजदर कम्तीमा १ वर्षसम्म नबढ्ने’ घोषणा गरे । कार्नीको भूमिकाले बजार आत्मविश्वासी बन्यो भने निजी क्षेत्रलाई दीर्घकालीन योजना बनाउन मद्दत मिल्यो । परिणामस्वरूप, आर्थिक संकटको बेला क्यानडा जी–सेभेन मुलुकमध्ये सबैभन्दा कम प्रभावित देश बन्यो । देशको अर्थतन्त्र सन् २०१० मै लयमा फर्कियो । क्यानडा विश्वव्यापी वित्तीय संकटबाट सबैभन्दा चाँडो माथि उठ्ने देश बन्यो । विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र अन्य अन्तर्राष्ट्रिय निकायहरूले कार्नीको वित्तीय नीतिको उच्च प्रशंसा गरेका थिए । उनी सन् २००८ देखि २०१३ सम्म बैंक अफ क्यानडाका गभर्नर रहे ।
क्यानडालाई वित्तीय संकटबाट बाहिर निकाल्न उनले निर्वाह गरेको भूमिका र नीतिबाट प्रभावित भएर सन् २०१३ मा बैंक अफ इङल्याण्डको गभर्नर बन्ने प्रस्ताव आयो । सन् २०१३ देखि २०२० सम्म उनी बैंक अफ इङल्याण्डको गभर्नर रहे । बैंक अफ इङल्यान्डको ३१९ वर्षको इतिहासमा गैर–ब्रिटिश नागरिक गभर्नर बन्ने पहिलो व्यक्ति मार्क कार्नी नै हुन् । उनले बेलायतमा गभर्नरको रूपमा ब्रेक्जिट र कोभिड–१९ महामारीको विषम परिस्थितिको सामना गरे र बेलायती अर्थतन्त्रलाई ‘सेफ ल्यान्डिङ’ गर्ने अभिभारा सफल रूपमा निर्वाह गरे ।
सन् २०१४ को स्कटिश स्वतन्त्रता जनमत संग्रहमा कार्नीले स्कटल्याण्ड स्वतन्त्र भएको खण्डमा उनीहरूले पाउण्ड स्टर्लिङ प्रयोग गर्ने हो भने बेलायतको मौद्रिक नीति स्वीकार्नुपर्ने व्यावहारिक चेतावनी दिएका थिए । कार्नीको अभिव्यक्तिबाट स्वतन्त्रता पक्षधरहरूमा कार्नी विरोधी भावना विकास भएको थियो । अन्ततः स्कटल्याण्डले संयुक्त अधिराज्यमै रहने निर्णय गर्यो ।
सन् २०१६ मा बेलायत युरोपेली संघबाट अलग्गिन चाह्यो । त्यसलाई ब्रेक्जिट भनियो । जनमतसंग्रहका बेला कार्नीले ब्रेक्जिटका कारण बेलायती अर्थतन्त्र मन्दीमा धकेलिने चेतावनी दिए । उनलाई ब्रेक्जिट समर्थकहरूले ‘प्रोजेक्ट फियर’ अर्थात् डर फैलाउने अभियान चलाएको आक्षेप लगाए ।
यद्यपि, ब्रेक्जिट जनमतसंग्रह पश्चात् उब्जिएको संकटको व्यवस्थापन गर्ने जिम्मवारी कार्नीकै काँधमा आयो । जनमतसंग्रहपछि पाउण्डको मूल्यमा १० प्रतिशतले ह्रास आयो । उनले तुरुन्तै आपतकालीन तरलता कोष खोलेर बजारको माग पूरा गरे । ब्याजदर कटौती गरेर ०.२५ मा झारे र केन्द्रीय बैंकले सरकारी ऋणपत्र खरिद गर्ने कार्य अर्थात् क्वान्टिटेटिभ इजिङ सुरू गरे ।
कोभिड–१९ महामारीले विश्वलाई आक्रान्त पार्न शुरू गरिसक्दा मार्च २०२० मा उनले ब्याजदर ०.१ प्रतिशतमा झारे । यस नीतिले बेलायती अर्थतन्त्रलाई महामारीको पहिलो धक्काबाट कमभन्दा कम प्रभावित गर्यो ।
कार्नीले केन्द्रीय बैंकिङमा नयाँ प्रवृत्ति विकास गरे । केन्द्रीय बैंकहरूले गोप्य राख्ने गरेको नीति टेलिभिजन अन्तर्वार्ताहरूमार्फत उनले सार्वजनिक गरे । त्यतिमात्र होइन, पारदर्शितामा समेत उनले नयाँ मानक खडा गरे । ब्याजदर निर्णयसँगै माइन्युट प्रकाशित गरे ।
कार्नीले दुईवटा केन्द्रीय बैंकमा काम गरेर आफूलाई संकट व्यवस्थापक अर्थात् क्राइसिस म्यानेजरका रूपमा चिनाएका छन् ।
क्यानडाको नर्थवेस्ट टेरिटोरीको फोर्ट स्मिथमा सन् १९६५ को मार्च १६ मा जन्मिएका उनले प्रारम्भिक शिक्षा अल्बर्टास्थित सेन्ट फ्रान्सिस जेभियर हाइस्कूलमा प्राप्त गरे । त्यसपछि उनले विश्वप्रसिद्ध हार्वर्ड विश्वविद्यालयमा अध्ययन गरे । उनी अध्ययनको क्रममा अक्सफोर्ड विश्वविद्यालय पनि पुगे र नुफिल्ड कलेजबाट विद्यावारिधि गरे । मार्कका आमाबुबा दुवै जना स्कूलका शिक्षक थिए ।
पेशागत जीवनमा उनले झन्डै १३ वर्षसम्म गोल्डम्यान साक्स बैंकमा काम गरे, जुन अवधिमा उनी बोस्टन, न्युयोर्क, टोकियो, लण्डन हुँदै टोरन्टोस्थित कार्यालयमा कार्यरत रहे ।
विश्वकै अग्रणी आर्थिक विशेषज्ञमध्ये एकका रूपमा चिनिने उनी आर्थिक क्षेत्रका धुरन्धर विज्ञ मानिन्छन् ।
सन् २०११ मा रिडर्स डाइजेस्टको क्यानडेली संस्करणले उनलाई क्यानडाकै सबैभन्दा विश्वासिला व्यक्ति भनी चयन गरेको थियो । यस्तै फाइनान्सियल टाइम्स दैनिकले उनलाई सन् २००८ को आर्थिक संकटबाट निकाल्ने र अघि बढाउने व्यक्तिका रूपमा चिनाएको थियो । टाइम म्यागेजिनले सन् २०१० मा संसारकै १०० प्रभावशालीमा उनको नाम राखेको थियो ।
मार्क कार्नी जस्टिन ट्रुडोलाई प्रतिस्थापन गरेर क्यानडाको प्रधानमन्त्री बनेका हुन् । उनी अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको राजनीतिक दाउपेचसँग जुधिरहेका छन् । ट्रम्पले क्यानडासँग व्यापारयुद्ध हुन सक्ने र क्यानडालाई ५१ औं राज्य बनाउने अभिव्यक्ति दिएका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पसँग जुध्न बलियो शक्ति र ताजा जनादेश आवश्यक रहेको भन्दै देशमा आम निर्वाचन घोषणा गरिएको थियो । उक्त निर्वाचनबाट उनी फेरि पनि प्रधानमन्त्री निर्वाचित भए । अमेरिकाले क्यानडाको अर्थतन्त्रलाई कमजोर बनाउने प्रयास गरिरहेको र त्यसकै लागि अमेरिकाले ‘ट्यारिफ वार’ शुरू गरेको कार्नीको विश्लेषण छ । उनले क्यानडामाथि अमेरिका हावी हुन नदिने वचन आफ्ना जनतालाई दिएका छन् ।
प्रतिक्रिया